काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ ।
शनिवार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको बिरोध पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरु मिलेर बनएको सरकार ढालेर काँग्रेससँग मिलेर सरकार बनाएको बताउनु भयो । उहाँले प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएको आरोप लगाउनु भयो । उहाँले नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरु तयार रहेको बताउनु भयो । संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले तपाईंले सुन्नुभयो, अध्यादेशको कुरा । अध्यादेश ६÷६ वटा अध्यादेश ल्याइयो । हुनतः त्यो भन्दा पहिला पनि तपाईंहरुले सुन्नुभयो, एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो । बदल्नुपर्ने कारण के थियो ? त्यसको औचित्य के थियो । दुई वटा कम्युनिष्ट पार्टी मिलेर सरकार चलाइरहेको अवस्थामा त्यो सरकार हटाउनुपर्ने कारण के परेको थियो । प्रधानमन्त्री पद नै चाहिएको थियो भने प्रचण्डजीसँग कुरा गरेको भए त्यो पद पनि दिनुहुन्थ्यो की क्या हो बार्गेनिङ गरेको भए । नछोडेको भए हामीलाई पनि भनेको भए, फेरि एउटा प्रधानमन्त्रीको संख्या थप्नु छ भनेको भए बनाइदिनुस् भनेको भए मान्थ्यौँ होला । त्यही प्रधानमन्त्री बनेर दुनियाँ ठग्नको लागि संविधान संशोधन गर्नुछ भनेर गफै हाँक्ने हो भने त्यो गफको के काम ? अब संविधान संशोधनको विषय पनि ०८७ को विषय बन्यो । अब ०८४ देखि चुनाव हुनेकुरा सुनेका छौँ । ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचको अवधिमा को हुने हो प्रधानमन्त्री ? यसको केही छ जवाफ ? मुखबाट त्यो निस्किएको हो की नबोल्नुपर्ने कुरा । अर्थात वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्नेकुरामा गम्भीर हुनुहुन्न । उहाँ वास्तवमा देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि होइन, कसरी हुन्छ, सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएर लाग्नुभएको छ । यसले हाम्रो देशको भविष्यलाई बढो संकटग्रस्त बनाएर जाने सम्भावना छ । उहाँहरुले अहिले नयाँ भाष्य ल्याएको छ । नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्छ । भन्नुको मतलव दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ । बहुदलीय व्यवस्था होइन । त्यसो भए उहाँहरुको एजेण्डा संविधान संशोधन गरेर बहुदलीय होइन, दुई दलीय शासन प्रणाली स्थापित गर्ने कुरा राख्नुभएको छ की । हामी त्यो पर्खिएर बसिरहेका छौँ । उहाँहरु त्यो घोषणा गर्न गइरहनुभएको छ भने आउनुस् आउनुस्, सामना हामी गर्दछाँै । संख्याको मात लागेको छ भने हाम्रो छिमेकी देशहरुको घटना हेर्नुस्, सम्झनुस् । संख्याले मात्रै केही गर्दैन, संख्याको मात लाग्यो भने त्यसको दुरुपयोग गर्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उभिन्छन् ।’
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताउनु भयो । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गर्नुभयो । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरु तयार रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल