बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना

लुम्बिनी – बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्राथना गरिएको छ ।

सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा आज बिहान विहारका भिक्षु र गुरुआमाहरुले कोरोना भाइरसका कारण मृत्यु भएकाको चिरशान्तिको कामना तथा सङ्क्रमितको स्वास्थ्य लाभको काम गर्दै प्राथना गरेका हुन् ।

अहिले साँझ मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, गुरुआमा र केही स्थानीयवासीको सहभागितामा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । गुरुआमाहरुले महापरित्राण पाठसमेत गरेका छन् ।

यही वैशाख २५ गते बुद्ध जन्मस्थलमा मनाइने २५६४ औँ बुद्धजयन्तीका सबै औपचारिक कार्यक्रम स्थगन गरिएपनि आजदेखि तीन दिनसम्म दीप प्रज्ज्वलन, पूजा र प्रार्थना गरिने कोषका कामु सदस्यसचिव ज्ञानिन राईले जानकारी दिए ।

भोलि बिहीबार बुद्धजयन्तीका दिन २५६४ वटा दीप प्रज्वलन गर्ने तयारी गरिएको कामु सचिव राईले बताए । ‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौद्धधर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने नारासहित बुद्धजयन्ती तथा तेस्रो अन्तरर्रा्ष्ट्रिय बौद्ध सम्मेलन भव्यताका साथ मनाउने तयारी गरिए पनि कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा विकास कोषले सबै कार्यक्रम स्थगन गरेको हो ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्