सचिवालय बैठक अघि ओली र प्रचण्डबीच छलफल, बामदेव पनि खुमलटार पुगे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका एजेण्डा र स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्तावका सन्दर्भमा उनीहरुबीच छलफल भएको हो ।

नेकपा सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्दैछ । सो बैठकमा प्रचण्ड र महासचिव विष्णु पौडेलले सहमतिको दस्तावेज तयार पारेर ल्याउने भनिए पनि दुई अध्यक्षबीचमै कुरा नमिलेकाले प्रस्ताव लेखन नै अघि नबढेको स्रोतले जनाएको छ ।

बामदेव खुमलटार पुगे

यसैबीच अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका नेकपा उपाध्यक्ष बामदेव गौतमले बुधवार विहानै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर आफू पार्टीमा एकताको पक्षमा रहेको बताएका छन् ।

यसबीचमा बामदेव ओलीतिर लागेको बुझेपछि प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ चार नेताको मात्र अलग छलफल भएको थियो । सो छलफलमा बामदेवले विश्वासघात गरेको चर्चा भएको थियो ।

गौतमले प्रचण्डलाई भेटेर आफू पार्टी बिभाजन हुनु हुँदैन भन्ने पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री पछिल्लो सहमति र पार्टी निर्णय अनुसार नै चल्नुपर्ने धारणा बामदेवले राखेको निकट स्रोतले जनाएको छ ।

वैशाख २० गतेको सचिवालय बैठकको निर्णय अनसार अघि नबढे नेकपामा पुनः विवाद चर्किने नेताहरुले बताएका छन् । स्थायी कमिटी बैठकको एजेण्डा र राजनीतिक प्रस्तावकै विषयले सचिवालय बैठक पुनः प्रभावित हुने सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्