काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी20 फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ ।
एनपीएल-फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणको एनपीएललाई खेलाडी, दर्शक र खेलसँग सम्बन्धित निकायले उत्तिकै महत्व दिएका छन्