काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा र चिनीयाँ विदेशमन्त्री वाङ यीबीच आज चीनको छेन्दुमा भेटवार्ता भएको छ ।
भेटका क्रममा उहाँहरुबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।
सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको थियो ।
वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी बर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा राणाले बधाई ज्ञापन गर्नुभएको थियो ।