उद्योग व्यवसाय सञ्चालनका लागि लकडाउन खुकुलो बनाउने सरकारको तयारी

काठमाडौं – सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ ।

लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्थितिमा नराम्रो असर परेको, श्रमिक तथा उद्योगीलाई समेत ठूलो मार परेकाले केही खुकुलो बनाउने तयारी थालेको हो ।

आर्थिक क्रियाकलापमा केही खुकुलो बनाउने र विभिन्न तीन तहमा विभाजन गरी आवश्यक निर्णयको तयारीमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको श्रव्यदृश्य अन्तकृयामा मन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलन नदिन सबैभन्दा महत्वपूर्ण उपायको रूपमा लकडाउन नै भएकाले यसलाई आम नागरिकले समेत स्वीकार गरेको बताए ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउन जारी भए पनि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको मापदण्डलाई ध्यान दिँदै केही आर्थिक क्रियाकलाप गर्न दिने गरी वस्तुगत योजनाको तयारीमा आफूहरु लागिपरेको उनको भनाइ छ ।

सरकारले पहिलो चरणमा खाद्य तथा अत्यावश्यक उद्योगलाई सञ्चालन गर्ने तयारी गरेको छ । यस्तै दोस्रो चरणमा निर्माणका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने र तेस्रो चरणमा निर्यातमूलक सामान उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

कोरोना सङ्क्रमणको वस्तुगत अवस्थालाई विशेष ध्यान दिएर रेड, एल्लो र ग्रिन जोन गरी तीन भागमा विभाजन गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्