काठमाडौँ – इङ्ल्यान्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई छ विकेटले हराएकाे हाे । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेकाे हाे ।
इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्याे । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए । यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
इङ्ल्यान्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई, नारायण जोशी, विबेक यादव र लोकेश बलले समान एक विकेट लिए । नेपालले प्रतियाेगिता पहिलाे पटक खेलेकाे हाे । प्रतियोगितामा नेपालले भोलि अस्ट्रेलियासँग खेल्नेछ ।