संखुवासभामा टिपर दुर्घटनाः अरुण तेस्रोका दुई जना भारतीय मजदुरको मृत्यु, दुई घाइते

संखुवासभा- संखुवासभामा मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत परियोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको छ ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो । टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो ।

दुर्घटनामा परेर २ जना घाइते भएका छन् । घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन् । घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

चिकित्सकले आज बिहानका राति करिब पौने ४ बजेतिर मृत घोषणा गरेका हुन् । मृतक दुवै जनाको शव जिल्ला खाँदबारी अस्पतालमै छ ।

दुर्घटनामा परेर टिपरमा सवार भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । उनीहरु पनि अरुण तेस्रोकै मजदुर हुन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । सामान्य अवस्थाका पालको खाँदबारी अस्पतालमै उपचार भइरहेको छ ।

पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा हुन् । भिरालो ठाउँमा टिपर दुर्घटना भएका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रहरीका अनुसार कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको हो ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्