थाई एयर एसियालाई नेपाल उडानमा रोक

काठमाडौँ – थाई एयर एसियालाई नेपाल उडानमा रोक लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थालेको एक महिनाभित्रै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्नुपर्ने सर्त पालना नगरेपछि नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको उडानमा रोक लगाएको हो ।

बैंकक–काठमाडौं–बैंकक उडान अनुमति लिएको एक महिना नबित्दै उडानमा रोक लगाइएको हो । प्राधिकरणले थाई एयर एसियाको नेपाली एजेन्ट कम्पनीका सञ्चालक परासर प्रसाईं र उनको कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल्सलाई आइतबार निलम्बन गरेको छ । सञ्चालक प्रसाईं र उनको कम्पनीले गर्ने उडानसम्बन्धी कार्य अब गैरकानुनी मानिनेछन् ।

यसअघि पनि थाई एयर एसियाको मूल कम्पनी एयर एसिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ०६९ देखि ०७५ सम्मको २७ करोड रुपैयाँ बक्यौता फर्जी भौचरमार्फत तिरेको देखाएर भागेको थियो । प्रसाईंले नै केही महिनाअघि पुरानो बक्यौता तिर्न बैंक ग्यारेन्टीको कागजात प्राधिकरणलाई बुझाएर थाई एयर एसियाको उडान अनुमति लिएका थिए ।

हाल बैंककबाट काठमाडौंमा नेपाल वायुसेवा निगम, थाई एयर र थाई लायन गरी तीनवटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्