अमेरिकासँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपाल पराजित भएको छ। सोमबार विहान अमेरिकाका टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरीमा सकिएको खेलमा नेपाललाई घरेलु टोलीले ३ विकेटले पराजित गरेको हो। टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भएको थियो।

नेपालका लागि ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। अनिलले ५६ रन र आसिफले ५२ रन बनाए। कुशल भुर्तेलले ११ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन जोडे। रोहितले ७५ बलमा ८ चौका र ३ छक्का हिर्काए। आरिफ शेखले ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा अमेरिकाका केन्जिगेले ४ विकेट लिए।

२८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छदा ७ विकेट गुमाएर पार गर्‍यो। उसका लागि ओपनिङ ब्याटर शायन जहानगिरले शतक प्रहार गरे। उनले १०४ रन जोडेका थिए। अर्का ओपनर आन्द्रेस गस १ रनमा आउट भए पनि कप्तान मोनाक पटेलले ६२ रन जोडे। उनले दोस्रो विकेटका लागि जहानगिरसँग १६१ रनको साझेदारी गरे। यस्तै हर्मित सिंहले ५७ रन र शाड्ली भान साल्वेकले २९ रन जोड्दा अमेरिका जित नजिक पुगेको थियो। बलिङमा नेपालका कुशल भुर्तेलले ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे। नेपाल, अमेरिका र स्कटल्यान्डबीचको यो सिरिजमा अब नेपालले भोलि राति सवा नौ बजे स्कटल्यान्डसँग खेल्नेछ।

लिग-२ मा नेपालले ९ मध्ये ७ खेलमा हार ब्यहोरिसकेको छ। ३ अंक जोडेर आठ टोलीमध्ये सातौं स्थानमा रहेको नेपालले एक खेलमा जित र एक खेलमा अंक बाडेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्