बहुवर्षीय ठेक्का वैशाखभित्रमा सम्झौता नभए त्यस्तो सहमति स्वतः रद्द हुने

काठमाडौँ – स्रोत सहमति प्राप्त बहुवर्षीय ठेक्का आर्थिक वर्षको वैशाखभित्र ठेक्का सम्झौता नभए त्यस्तो सहमति स्वतः रद्द हुने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, ०८१ अनुसार सहलगानीका आयोजनाका सम्बन्धमा नेपाल सरकारले बेहोर्ने अंशका लागि मात्र बहुवर्षीय ठेक्काको स्रोत सहमति प्रदान गरिनेछ ।

बहुवर्षीय ठेक्काको स्रोत सहमति प्राप्त भएको आयोजनाको खरिद प्रक्रिया माघभित्र सुरु गरिसक्नुपर्ने मापदण्डमा उल्लेख छ । तर ०८० को मापदण्डमा भने स्रोत सहमति प्राप्त बहुवर्षीय ठेक्कामा आर्थिक वर्षको नौ महिनाभित्र ठेक्का सम्झौता गर्नुपर्ने र कात्तिकभित्र खरिद प्रक्रिया सुरु गरिसक्नुपर्ने उल्लेख थियो । अहिले गत वर्षको मापदण्डमा केही परिवर्तन गरेर जारी गरिएको हो ।

ठेक्का मूल्यांकनको चरणमा रहेका आयोजनाको हकमा भने यस्तो समयसीमा लागू हुनेछैन । राष्ट्रिय गौरवका बाहेकका आयोजनाको हकमा यस मापदण्डको अधीनमा रही प्रदान गरिएको बहुवर्षीय ठेक्काको स्रोत सहमतिको अवधि बढीमा तीन आर्थिक वर्षको हुने उल्लेख छ ।

मन्त्रालय वा निकायले प्रत्येक वर्षमा बहुवर्षीय ठेक्का सहमति वा स्वीकृतिको विवरण राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली र मन्त्रालयगत बजेट सूचना प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ । आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड तयार भएर राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्