प्राधिकरणले फेरि उद्योगको बिजुली काट्यो

काठमाडौँ – डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली काटेको छ ।

प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने बिजुलीको महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना निकालेको थियो । महसुल तिर्न दिएको समय हिजो सकिएसँगै प्राधिकरणले गएराति उद्योगको बिजुली काटेको हो ।

किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न शुरु गरेका पाँच उद्योग र अदालतबाट अन्तरिम आदेश पाएको एउटा उद्योगबाहेक सबै उद्योगको लाइन काटिएको छ ।

डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे निर्णय गर्न बिहीबार बिहान प्राधिकरणको सञ्चालक समितिको बैठक बसे पनि निष्कर्षविहीन भएको थियो । बैठक निष्कर्षविहीन भएपछि प्राधिकरणले बेलुकादेखि उद्योगको लाइन काट्न थालेको हो ।

त्यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्री दिपक खड्कालाई भेटेर बिजुली नकाट्ने हो भने मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठकमा यसबारेमा छलफल भए पनि कुनै निर्णय भएको थिएन । त्यसलगत्तै उद्योगको बिजुली काट्न थालिएको हो ।

डेडिकेडेट फिडर र ट्रंकलाइनमार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्