काठमाडौँ – पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।
कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको कास्की प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् । उनीबिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सो सहकारीको रकम अपचलन गरेको आरोप छ ।
जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए । गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।