लामिछानेमाथि सङ्गठित अपराध र कीर्तेमा पनि अनुसन्धान हुने, सांसद पद के हुन्छ ?

काठमाडौँ  – सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले सङ्गठित अपराध र कीर्ते लिखतमा पनि अनुसन्धान गर्ने भएको छ ।

संसद्को सहकारी ठगी विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेले सहकारी ठगी र कीर्ते गरेको उल्लेख छ । समितिले प्रचलित कानूनअनुसार कारबाही अघि बढाउन भनेकाले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र कीर्ते लिखतमा अनुसन्धान हुने भएको हो । प्रहरीले यी तीनै कसूरमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने छ ।

पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानूनी प्रावधान भए पनि हिजो शुक्रवार पक्राउ परेकाले प्रहरीले रविलाई भोलि आइतवार मात्र अदालतमा उपस्थित गराउने छ । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ अनुमति पाएकाले ६० दिनसम्म अनुसन्धानको म्याद पाउँछ । तर यही कसूरमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेकाले रविको पनि अभियोजन छविलालसँगै हुने हुँदा रविको हकमा ६० दिनको समय अनुसन्धानका लागि प्रहरीले पाउने छैन । असोज ६ गते सूर्यदर्शन सहकारीकै बचत अपचलनसहित ठगी आरोपमा जोशी पक्राउ परेकाले त्यसको ६० दिनमा प्रहरीले रविसहित पक्राउ परेकाविरुद्ध अदालतमा मुद्दा दायर गरिसक्नुपर्छ । त्यसैले रविको हकमा प्रहरीले बढीमा एक महिनामा अनुसन्धान गरिसक्नुपर्नेछ ।

यसैबीच रास्वपाको संसदीय दलका नेतासमेत रहेका लामिछाने पक्राउ परेपछि अब उहाँको सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ । तर लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै कारणले सांसद पद निलम्बनमा पर्ने छैन । प्रतिनिधिसभा नियमावलीले अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्रै थुनामा रहेको अवधिभर सांसदको पद निलम्बन हुने व्यवस्था गरेको छ । प्रहरीले तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र सेवा सुविधा रोकिने छ ।

प्रहरीले सांसदलाई पक्राउ गर्दा त्यसको सूचना तत्काल सभामुख र संसद् सचिवालयलाई दिनुपर्ने व्यवस्था छ । लामिछाने पक्राउ परेको सूचना संसद् सचिवालयलाई पठाइसकेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्