झ्याप्ले खोलामा अर्को माइक्रो पनि पुरिएको भेटियो, १० जनाको शव निकालियो

काठमाडौँ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार बस पुरिएको स्थानमा खोजी कार्य गर्दा अर्को पनि हायस पुरिएको भेटिएको छ । त्यहाँबाट १० वटा शव निकालिएको छ।

बिहानदेखि अहिलेसम्म ८ पुरूष र २ महिलाको शव प्रहरीले बताएको छ। बस र विंगर पुरिएको ठाउँबाट निकालिएका शवहरूको पहिचान हुन सकेको छैन । आइतबार बिहान बस पुरिएको ठाउँबाट तीन जनाको शव निकालिएको थियो। खोजी कार्य जारी रहँदा थप ७ जनाको शव भेटिएको हो।

अहिले पनि खोजी कार्य जारी छ। पहिरो पन्छाउन धादिङका प्रहरी प्रमुखकै नेतृत्वमा प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ। ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं जानका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको कम्पनीका अध्यक्ष नारन खत्रीले जानकारी दिए।

यात्रुका आफन्तले पनि सम्पर्कमा नआएको भन्दै फोन गरिरहेको खत्रीले जानकारी दिए। हराएको बस झ्याप्ले खोलामा पुरिएको बस हुन सक्ने आकलन गरिएको छ। यसअघि शनिबार नै झ्याप्ले खोलामा एउटा बस र विंगर जिप पुरिएका थिए। पुरिएको गाडीबाट १४ जनाको शव निकालिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्