दशैको मुखमा गुप्तचरका ९४ जनाको सरुवा

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहतको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित रुपमा भेट गर्न नदिएको चर्चा हुँदै आएको छ । मुलुकको एकमात्र गुप्तचर निकायलाई कमजोर पारेर विदेशी गतिविधि बढाएको आरोप उनी माथि लाग्ने गरेको छ । त्यति हुँदाहुँदै पनि ०८१ असोज २ गते विभागका मुख्य अनुसन्धान निर्देशक थापाले सहायक सुचकदेखि प्रमुख अनुसन्धान अधिकृत तहसम्मका ९४ जना कर्मचारीको काज सरुवा गरेको स्रोतले जानकारी दिएको छ । दशैंको मुखमा सरुवा गरिएकाहरूलाई असोज १० गतेभित्रै काज सरुवा भएको जिल्ला वा कार्यालयमा हाजिर हुन निर्देशन दिएको प्रशासन महाशाखा स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार काज सरुवामा ५ जना मुख अनुसन्धान अधिकृत, १४ जना अनुसन्धान अधिकृत रहेका छन् । १५ जना वरिष्ठ नुसन्धान सहायक, २१ जना अनुसन्धान सहायक, २५ जना सुचक र १४ जना सहायक चकहरूलाई सरुवा गरिएको छ । सरुवा गरिएकाहरुमा जिल्ला अनुसन्धान कार्यालय बाँके र लितपुरका प्रमुख अनुसन्धान अधिकृतको विभाग प्रमुख रहेका  छन। प्राप्त जानकारी अनुसार इन्टेलिजेन्स शिक्षालय हेटौडाका प्रमुख अनुसन्धान अधिकृतको ललितपुरमा सरुवा भएको छ । कर्णाली प्रदेश कार्यालयका प्रमुख अनुसन्धान अधिकृतको बाँके जिल्लामा विभागबाट एकजना प्रमुख अनुसन्धान अधिकृतको इन्टेलिजेन्स शिक्षालय हेटौडामा सरुवा गरिएको छ ।

उपअनुसन्धान निर्देशकसम्मको सरूवा गर्ने अधिकार विशेष सेवा ऐन र नियमावलीले मुख्य अनुसन्धान निर्देशक थापालाई दिएको छ । तरपनि उनले दहो खुट्टा टेकेर आफ्नो अधिकार प्रयोग गर्न डराएको रुपमा कर्मचारीले अर्थ्याउने गरेका छन । यही कारण प्रमुख थापाको बिभागमा आलोचना हुँदै आएको छ । प्रमुख थापाले सहअनुसन्धान निर्देशक र अनुसन्धान निर्देशकको काज नभएर दरबन्दी अनुसार सरूवा गर्नुपर्ने मत बलियो रहेको छ ।
प्रमुख थापालाई दुई एआईजी ओमराज जोशी र टेकराज कार्कीसहित ९ जना डीआईजीले माओवादी केन्द्रका नेता र मन्त्रीलाई धेरै चाकडी नगर्न सुझाव दिदैं आएको स्रोतले दावी गरेको छ । त्यसलाई निरन्तरता दिएको खण्डमा उनी स्वयम् र विभागका लागि पनि प्रत्युत्पादक हुने सुझाव दिएपनि उनले टेरपुच्छर लगाएका थिएनन् । प्रमुख एक्लै हिड्न खोज्दा अहिले आफुसहित विभागकै औचित्य र भूमिकामा प्रश्न उठेको स्रोतले बताएको छ ।
उनले विभागलाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा भन्दा पनि आफूअनुकूल बनाउन खोज्दा राज्य र सरकारबाट उपेक्षा हुन थालेको एक उच्च स्रोतले निराशा व्यक्त गर्दै बताएको छ । यही कारण प्रधानमन्त्री कार्यालयले उनको कार्यशैलीलाई नरुचाएको चर्चा छ । प्रधानमन्त्री कार्यालयले उनलाई हटाउने योजना भित्रभित्रै बनाएपनि समय भने एकपछि अर्को गर्दै सर्दै गएको बताइन्छ। अब छठपर्व पछि मात्र थापालाई बिभागको नेतृत्वबाट हटाइने चर्चा चलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्