काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले मन्त्रिपरिषद्को बैठकमा आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने प्रस्ताव राखेका हुन् ।
शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा छलफल थियो । विपद् जोखिम न्यूनीकरणका लागि गरिएका तयारी तथा भावी कार्ययोजनाबारे कार्यक्रममा मन्त्री लामिछानेले सो प्रस्ताव लगेका हुन् ।
दीर्घकालीन नीति अन्तर्गत आगलागी नियन्त्रण गर्न र तयारीका लागि सातै प्रदेशमा गोदाम घर तथा मानवीय सहायता कोष बनाउने योजना रहेको तथा बन्द रहेका विमानस्थलमा आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण राख्ने चाहना समेत मन्त्रालयको रहेको छ ।