केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो । मंगलवार अध्यक्ष कुमार कार्की लगायत नेपाल व्यापार संघका अध्यक्ष हरि गाैतम लगायतको टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।

महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रुपमा नेपाल भित्र नभित्रने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरूको अर्बौँ रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो ।

महासंघले व्यवसायीहरूलाई सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरू मात्रै जान पाउने सिन्डिकेट हटाएर सबै व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताए ।

उनले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायीहरू आफैँ जान नपाउँदा व्यवसायीहरू समस्यामा रहेको बताए । उनले चीनबाट आयात हुने सामानहरू नाकामा फुट्ने, लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायीहरू नाका पारी जान नपाउने बताए ।

उनले समान ढुवानी गर्न, ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय सवारी साधन लैजानुपर्ने एकाधिकार हटाउन माग गृहमन्त्रीसँग गरिएको उल्लेख गरे । उनले चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको बताए । अध्यक्ष कार्कीले गृहमन्त्रीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीहरूले मात्रै नाकापारी जान पाउने व्यवस्था रहेको भन्दै त्यसलाई अन्य व्यवसायीहरूलाई पनि अस्थायी पासको व्यवस्था गरी आवतजावत गर्न माग गरिएको बताए । उनले चीनबाट आयात गरिएको सामान व्यवसायीहरूले हेर्न र लिन जान नपाएको बताए । उनले २०१६ सालमा चीनसँग भएको पारवहन सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।

व्यवसायीहरूले चीन नाकामा रहेका भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले भन्सारमा सहज बनाउन र नाकामा सामान सहज रुपमा नेपालमा ल्याउने व्यवस्था गर्न बारम्बार ध्यानाकर्षण गर्दा समेत नभएको बताएका छन् । उनीहरुले रसुवा नाकामा सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा ल्याउन समेत माग गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्