राज्यले व्यापारीलाई हेर्ने दृष्टिकाेण काेशीले बदल्छ : मुख्यमन्त्री कार्की

विराटनगर, २६ पुस । मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकाेण काेशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन विर्तामाेड, झापाले बिहीबार आयाेजना गरेकाे श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतकाे खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्याेति ल्याउने समूहकाे विदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारकाे साझेदार नभई अंग भएकाे बताएका हुन् ।

 

´व्यवसाय, व्यवसायी, उद्याेगी र ब्यापारीकाे परिभाषा काेशीले बदलेर ब्यवसायलाई सरकार बाहिर हाेइन सरकारभित्रकाे नै अंग भएकाे प्रमाणित गर्न सबैकाे सहयाेग अपरिहार्य छ,` उनले भने, ´सरकार र उद्याेगी, व्यवसायी एउटै हाे, छुट्टै हाेइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन । साझेदार हुनै सक्दैन ।` काेशी सरकार व्यवसाय मैत्री भएकाले सबैलाई हातेमालाे गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउन मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

 

´सरकारले उद्याेग, व्यवसाय क्षेत्रकाे उत्थान र विकासका लागि तालिम, प्रविधि हस्तान्तरण, पूँजी लगायत सहयाेग गर्छ,` उनले भने, ´व्यवसायी सरकार भन्ला अलग हाे, लुट्छ, कर छल्छ भन्ने बुझाइ काेशी सरकारले बदल्छ ।`
यहाँका उद्याेगी, व्यवसायीले धेरै भन्दा धेरै आमदानी गरेर धेरै भन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयाेग पुर्याउनु अपरिहार्य रहेकाे उनले बताएका हुन् ।

 

मुख्यमन्त्री कार्कीले विदेशमा महंगाे मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अैाँलाे उठाउने र अवहेलना गर्ने काम भइरहेकाे प्रति आपत्ति जनाएका थिए । ´हुनेखाने वर्गका छाेराछाेरी अस्ट्रेलिया, क्यानडालगायतका देशमा महंगाे मूल्यमा श्रम बेच्दा सम्मान र खाँडी मुलुकमा श्रम बेच्नेलाई विमानस्थलमा लाम लागेकाे तस्बिर देखाएर अपमान गर्न मिल्छ ?,` उनले भने, ´यस्ताे अपमानित व्यवहार गर्ने साेचमा सबैले परिवर्तन ल्याउनु आवश्यक छ किनकि जहाँ श्रमकाे मूल्य बढी हुन्छ त्यहाँ राेजगारीमा जाने पूरानाे चलन रहेकाे सबै जननकार छाैं । सबैले बुझ्नु पर्छ ।`

 

नेताहरूले भाेटकाे राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुकाे विकल्प नभएकाे मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे । ´भाेटकाे राजनीतिमा लागेर युवा जनशक्ति पलायन भएकाे नारा दिन राजनीतिक नेतृत्व लगायतका नेताहरूले बन्द गर्नुपर्छ,` उनले भने, ´नेताहरू श्रमिककाे नै टिकटमा विदेश जाने, बस्ने, भाषण गर्ने, भ्याएसम्म मार्केटिङ पनि गर्ने र चन्दा पनि उठाएर ल्याउनेले नै फेरी श्रमिकलाई नै अपमान हुने गरि भाेटका लागि नारा दिने कार्य तत्काल बन्द गर्नुपर्छ ।` जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँ गएर श्रम बेच्ने उहाँहरूकाे अधिकार भएकाे सबैले बुझ्नु आवश्यक रहेकाे उनले बताएका हुन् ।युवा जनशक्ति पलायन भयाे, उत्पादनमा ह्रास भयाे भन्नेहरूले धान उत्पादन बढेकाे  नहेर्ने नेताहरूबाट समाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । भक्तहरूकाे समर्पण भएकाे ठाउँमा भगवानकाे वास भएकाे बुझने समाजमा श्रमप्रति समर्पित श्रमिककाे भावनालाई अपमानित हुँदा भगवानकाे अपमान भएकाे बुझ्नु आवश्यक रहेकाे उनकाे भनाइ थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्