काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनु पर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेसले ४८ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक स्थिति र अहिलेको शासन सञ्चालन प्रक्रिया प्रति सन्तुष्ट कांग्रेसलाई भड्काउने आफ्नो कुनै उद्देश्य नभएको भन्दै ओलीले व्यङ्ग्य गरे ।
‘अहिलेको स्थिति, अहिलेको परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गो फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन, त्यस कारण म त्यतापट्टि बिलकुलै जान चाहन्न, कुनै अमन चयनमा खलल पनि पार्न चाहन्न’, ओलीले भने ।
उनले गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई हेर्दाहेर्दै समय नघर्कियोस् भन्दै चेतावनी दिए । दिनदहाडै मन्त्री भिडमा गएर मानिसलाई उत्तेजित बनाएर गोली चलाएर र बन्दुकको कुँजाले हानेर ठाउँको ठाउँमा मानिस मार्ने काम गरेको उनको भनाइ छ ।
सरकारले काम गरेन भन्नुको सट्टा सरकारले काम गरेन एमाले के हेरिरहेको छ भनेर एमाले माथि नै हमला भइरहेको भन्दै उनले आलोचना गरे । सरकारको कारण देशमा घटना भइरहेको अवस्थामा पनि कतिपय मानिसहरू एमाले के गर्दै छ भनेर एमाले माथि नै खनिएका ओलीले बताए । ओलीले राजतन्त्रको बहस अब नेपालमा आवश्यक नरहेको बताए । राजतन्त्र समाप्त भइसकेकोले अब त्यो फर्किने वा फर्काउने कुनै सम्भावना नहरेको उनले प्रष्ट पारे । राजतन्त्र हटेको नभई हटाइएको कारण अब फिर्ता नल्याइने उनले बताए ।
‘फाल्तु गफ हो यो राजतन्त्रको, राजतन्त्र असान्दर्भिक छ’, ओलीले भने । ओलीले लोकतन्त्र जोगाउन राजनीतिक दलहरूको बिचमा एकता र अन्य कुरामा स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र, शान्ति, सुशासन, विकास लगायतका प्रश्नमा राजनीतिक एकता आवश्यक रहेको उनले स्पष्ट पारे ।
कम गरे पनि नगरे पनि उस्तै देख्ने दृष्टिकोण बदल्नु पर्नेमा ओलीले जोड दिनुभयो । काम गर्ने र नगर्नेलाई एउटै डालामा राखेर हेर्न नहुने उनले स्पष्ट पारे । नेपालीका पुर्खाले तोपसँग खुकुरी जुधाएर देश जोगाएका स्मरण गराउँदै ओलीले अहिले आँखा जुधाए समेत कुरा नगरेको भन्दै सरकारको आलोचना गरे ।
भारत नेपालको असल मित्र भएकोले आफूलाई अप्ठेरो परेको कुरा प्रष्ट रूपमा राख्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनु परेन ?’, उनले प्रश्न गरे । ओलीले आफ्नो अनुकूलको कुरा होइन हरेक अवस्थामा एउटै कुरा गर्न आग्रह गर्नुभयो । यस्ता कुरामा मेलमिलाप गरेर अघि बढ्नु पर्नेमा ओलीले जोड दिए । उनले मेलमिलाप दिवसले यथार्थमा मेलमिलाप गरेर अघि बढ्न आग्रह गरे ।