इपिएस भाषा परीक्षाको विषयलाई लिएर शुक्रबारको प्रदर्शन र दुई जनाको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन्।
आज बिहान उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले शुक्रबारको घटनाबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए।
गृहमन्त्रीसहित अधिकारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे ब्रिफिङ गर्दै त्यसको छानबिन गर्न समितिसमेत गठन भएको जानकारी गराएका छन्। शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो
घटनाको छानबिनका लागि शुक्रबार नै गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयको सचिवालयले जानकारी दिएको छ। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धा विभागका उपनिर्देशक बासु सिग्देल छन्।