काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको टुंगो बिहीबार पनि लाग्न सकेको छैन। आज पनि जिल्ला अदालत काठमाडौंमा मुद्दाको सुनुवाइले निरन्तरता पाएको हो।
सुनुवाइ नसकिएपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखेको छ। सरकारी वकिल र गौशाला २६ को तर्फबाट कानुन व्यवसायीहरुको बहसपछि बिहीबार सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए। बहस नसकिएकाले शुक्रबार पनि सन्दीपका कानून व्यवसायीहरुले पालो पाउनेछन्। सन्दीपका कानुन व्यवसायीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस गर्ने पालो आउने र इजलासले निर्णय सुनाउने बताइएको छ।