काठमाडौँ – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि २६ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको थियो ।
इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । प्रवक्ता लम्सालले भनिन्, ‘महासचिवको नेपाल भ्रमण हालका लागि स्थगित भएको हो । इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण भ्रमण स्थगित भएको छ । भ्रमण छिट्टै हुन्छ । हामीले त्यसको तयारी गरिरहेका छौँ ।’
नेपाल भ्रमणका क्रममा उनको लुम्बिनी र पोखरा जाने कार्यक्रम तय भएको थियो । यस्तै शनिबार संयुक्त राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने तयारी पनि गरिएको थियो ।