इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि (नामावली सहित)

काठमाडौं – प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् । आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।

राजदूत रिजालले बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ । गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् । राजदूत रिजालले भनिन्, ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासरत छौं ।’

आइतबार विहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमण्ममा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्