काठमाडौँ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबीले आज आइतवार बुझाएको प्रतिवेदनमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई सुझाव दिएको छ ।
सीआईबीले राहुल महरा, लोकेन्द्रकुमार पौडेल, निमा गुरुङ र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित चार जनालाई प्रतिवादी कायम गर्न सुझाव दिएको हो । चिनियाँ सुन तस्कर दाओजिन वाङसहित छ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले सुझाव दिएको छ । यस्तै प्रहरीले आठ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने सुझाव दिएको छ ।
२०७९ सालको पुस १० गते दुबईबाट भेपमा लुकाएर ल्याएको नाै किलो ११ ग्राम पाँच सय २४ मिलिग्राम सुन भेटिएको थियो । त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरी गएको असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । सुन भन्सारमा रहेको बेला छुटाउन दबाब दिएको आरोप पूर्वसभामुख महराका बाबुछोरामाथि लागेको छ । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएर छाडेको छ ।