नेशनल प्याबसनको आयोजनामा यहि १८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिनुभएको हो ।  विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि शैक्षिक क्षेत्रमा सकृय राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंद्वारा विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले यहि भाद्र १८ गते सोमवार नेपाल प्रज्ञा भवन, कमलादीमा, उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता २०८०, पाँचौ संस्करणको आयोजना गर्न लागेको नेशनल प्याबसनका अध्यक्ष खड्क बहादुर बस्नेतले जानकारी दिनुभयो । प्रतियगिताको उद्घाटन  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, माननिय मन्त्री शक्ति बहादुर बस्नेतले गर्नुहुनेछ ।

लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले प्रवेश शुल्क रु.५०००/- तिरी भाग लिन सक्नेछन् । विद्यालयहरुले प्रतियोगितामा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई राखी कम्तिमा ८ देखि २४ जनाको समूह बनाई बढीमा ५ मिनेट भित्र आफ्नो नृत्य प्रस्तुत गर्नुपर्नेछ । विद्यालयको भन्दा बाहिरी विद्यार्थीहरु अथवा बाहिरी कलाकारहरुले प्रतियोगितामा सहभागि हुन पाउनेछैन । सहभागिताको लागि ७५ विद्यालयले नाम दर्ता गराएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः रु. २५,०००/- २०,०००/- र रु. १५,०००/- का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने छ। साथै चौथोदेखि दसौं स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै, सर्वोत्कृष्ट भेषभुषा, सर्वोत्कृष्ट नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता सहभागी विद्यालय र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ । । प्रतियोगिता २०८० भाद्र १८ गते सोमवारका दिन बिहान ९:०० बजे देखि सुरु हुने हुँदा प्रत्येक प्रतियोगी विद्यालयले आफ्नो कम भन्दा ३० मिनेट अगावै आफ्नो उपस्थिति हाजिरी पुस्तिकामा हाजिर जनाउनु पर्ने नेशनल प्याब्सनका काठमाडाै जिल्ला सचिव अमृत खड्काले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक टंकबहादुर थापाले भन्नुभयो “प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत, संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराईने र कुनै पनि रिमिक्स भर्सनमा भएको गीतलाई मान्यता दिइनेछैन । चर्या नृत्यको आफ्नै मौलिकता रहेकोले प्रतियोगितामा समावेश गराइने छैन । प्रत्येक सहभागीलाई बढीमा ५ मिनेटको समय दिइने भएकोले उक्त समय उद्घोषकले उद्घोषण गरे पश्चात सुरु हुनेछ । मौलिक संस्कृति झल्कने खालको नृत्य नै प्रतियोगिता केन्द्रित रहेको हुँदा बाहिरी सजावट र नाटकीय प्रस्तुति मूल्याङ्कनमा पर्ने छैनन् । प्रतियोगिताका लागि आवश्यक सामग्री सहभागी विद्यालयले व्यवस्था गर्नु पर्नेछ । सहभागी विद्यालयले नृत्यको विवरण अनिवार्य रुपमा प्रिन्टेट पानामा लिपिबद्ध गरी लेखेर दर्ता फारम सँगै बुझाउनुपर्ने छ । जुन नृत्यको विवरण कार्यक्रम प्रस्तोताले मात्र उद्घोष गर्ने छ । विद्यालयलाई छुट्टै उद्घोष गर्न दिइनेछैन । प्रतियोगिता सुरु हुनु ३० मिनेट अगावै प्रतियोगी प्रतियोगिता स्थलमा आइसक्नु पर्नेछ ।”

कार्यक्रम समयमा हरेक प्रतियोगी विद्यार्थी परिचयपत्र सहित उपस्थित हुनुपर्ने छ । नृत्य प्रतियोगिता गर्ने क्रममा विद्यालयको नाम उच्चारण गरिने छैन । यसैगरी आजै  गोला प्रथाद्वारा कोड नम्बर अनुसार विद्यालयको क्रम संख्या निर्धारण गरिएको छ भने सोहि अनुरुप प्रतियोगितामा नृत्य प्रस्तुत गर्न बोलाईने छ

नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा पाँच जना लोक, संस्कृति, कला साथै नृत्य विशेषज्ञहरु हुनेछन् । नृत्यको स्तर, सिर्जना, मौलिकता, चाल, ताल, प्रस्तुति, भेषभुषा, श्रृङ्गारमा एकरुपता, अनुशासन साथै नृत्यसमय भित्र प्रस्तुत गरिएका सम्पूर्ण हाउभाउका आधारमा निर्णायकहरुले निर्णय गर्नेछन्। प्रतियोगितामा भाग लिने विद्यालयका प्रधानाध्यापकहरुले समेत कार्यक्रमको छुट्टै आचार संहितामा हस्ताक्षर गरि बुझाउनु पर्नेछ ।

प्रतियोगितामा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ । प्रतियोगितामा ट्रिटन इन्टरनेशनल सकेन्डरी स्कूल तथा कलेज, सुविधा नगर र डिभी ग्रुपका नेसपरसले प्रतियोगिताको ट्रफि, मेडल, प्रमाणपत्रको सौजन्य गरेको छ। नेसनल प्याब्सन नगर समितिहरु : काठमाण्डौ नगर समिति, कागेश्वरी नगर समिति, कागेश्वरी नगर समिति, टोखा नगर समिति, गोकर्नेश्वर नगर समिति, बुडानिलकण्ठ नगर समिति, तार्केश्वर नगर समिति, नागार्जुन नगर समिति, प्लेसमेन्ट ट्री कोटेश्वर, अमर कला केन्द्र कालिमाटि, कोटेश्वर, दिया कलचर हाउस, खिचापोखारी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्