काठमाडाैं – ललितपुर उद्योग वाणिज्य संघको आसन्न ४४औं साधारणसभा तथा अधिवेशनमा हुने संघको निर्वाचनको लागि युवा उद्यमी विश्वराज बज्राचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बज्राचार्य संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् । एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी सफतलापूर्वक निर्वाह गरिसकेका बज्राचार्य सोसल इन्टरप्रेनर (Social Entrepreneur) को रुपमा पनि परिचित छन् ।
ब्यवसायिक नेतृत्व विकास र ब्यवसायिक इमान्दारितालाई आफ्नो मुख्य ऐजेण्डा बनाएर अघि बढेका बज्राचार्यले राज्य ब्यवस्थाले कायम गरेका नीतिनियम, कानूनी प्रावधानलाई लागू तथा सुधार गर्दै ब्यवसायिक एकतामा जोड दिएका छन् ।
अध्यक्षमा उम्मेदवारी घोषणासँगै बज्राचार्यले वर्तमान कार्यसमितिले सुरु गरेका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् । यसैगरी, वर्तमान संस्थागत उपाध्यक्ष तथा ललितपुर जिल्लाका सुपरिचित ब्यवसायी वीरेन्द्रलाल श्रेष्ठले बज्राचार्यकै समूहबाट संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
श्रेष्ठले एक कार्यकाल कार्यसमितिको संस्थागत सदस्य र संस्थागत उपाध्यक्षको जिम्मेवारीको दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिरहेका छन् । आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमुलस्थित यल दरबारमा संघको साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।