आम सर्वसाधारण आफुहरुले सहकारीमा बचत गरेको रकम जतिसक्दो प्रयास गरेपनि फिर्ता नगरिएको गुनासो गर्छन् । करोडौं बचतकर्ताको खर्बो रकम सहकारीले झवाम पारिदिएको छ । घरजग्गा बेचेर वा जीवनभर कमाएको रकम सहकारीमा राख्दा डुबेपछि कतिपयले आफ्नो मानसिक सन्तुलन गुमाए त कतिपय सडकमा मागेर खानुपर्ने अवस्थामा पुगे ।
मुलुकभर ३५ हजारभन्दा बढी सहकारी दर्तामा छन् । र, एउटै सहकारीले एकै बचतकर्ताको २० हजारदेखि करोड रुपैयाँसम्म खाएको बताइन्छ । सहकारी संघसंस्थाहरुले १२ देखि २२ प्रतिशतसम्म डिपोजिटको ब्याज दिन्छु भनी बचतकर्तालाई रकम राख्न लोभ्यायो । तर, अहिले न ब्याज नै दियो न साँवा ।
देशैभर दर्तामा रहेका सहकारीमध्ये ९९ प्रतिशत सहकारी संघसंस्था भागिसकेका छन् वा बन्द भइसकेका छन् । यता, सञ्चालनमा रहेका केहीले पनि बचतकर्ताहरुलाई रकम फिर्ता गर्न आलाटाल गरिरहेका छन् । जोकोही अहिले सहकारी ठग, चोर भन्छन् । उनीहरु आफुहरु फसेपनि अब अरुलाई फस्नबाट जोगाउनुपर्नेमा जोड दिन्छन् ।
पछिल्लो समय बजारमा सहकारी संघसंस्थाका बजार प्रतिनिधिहरु ड्रेस नलगाई पैसा उठाउन आइपुग्छन् । उनीहरु बचत फिर्ता गर्दैनन् तर पैसा भने उठाइरहन्छन् । आमनागरिकले सहकारीबाट आफ्नो विश्वास गुमाइसकेका छन् । यसले गर्दा अब व्यापारीदेखि नागरिकसमेतले सहकारीमा रकम राख्दैनन् ।
सहकारीले रकम फिर्ता नगरेपछि कतिपय बचतकर्ताहरुले गुण्डा गुहारेका छन् । आधा रकम दिने सम्झौतामा उनीहरुले गुण्डागर्दी गरेर भएपनि आफ्नो रकम फिर्ता लिइरहेका छन् । तर, यति गर्दा पनि बचत फिर्ता नगरे कार्यालयमा भएको सामान नै उठाएर हिड्ने गरेको समेत पाइएको छ ।
अधिंकाश सहकारीको एउटै तर्क छ, हाम्रो लगानी घरजग्गा, गाडी र सेयरमा फस्यो । करिब दुई वर्षअघि आनाको ४०–४५ लाख रुपैयाँमा किनेको जग्गा अहिले पैसाको खाँचो परेको त्यसको आधा मूल्यमा बेच्छुभन्दा समेत बिक्री हुन्न । ३२ सयमा किनेको एक कित्ता सेयर अहिले सय रुपैयाँमा बिक्दैँन ।
यता, २० लाख हालेर किनेको गाडी अहिले लाख रुपैयाँमा बिक्री हुदैँन । बजारमा व्यापक मन्दी छ । होटल, रेष्टुरेन्ट, कपडा तथा हाडवेयरजस्ता पसलहरु धमाधम बन्द हुन थालेका छन् । व्यापारव्यवसायमा आएको मन्दीका कारण उनीहरु सटर नै छोडेर गाउँ फर्किएका छन् वा विदेशिएका छन् ।
अहिले घरजग्गा, गाडी र सेयर बेच्न चाहनेहरु पाइलैपिच्छे भेटिन्छन् तर किन्ने कोही छैन । मालापोत र यातायात कार्यालय पनि सुनसान छ । राजस्व संकलनमा निकै गिरावट आएको छ । अहिले बैंकहरु आफैंले लगानी गर्ने ठाउँ कतै नभएको वा कर्जा माग्न कोही नआउने भनिसकेको छ ।
सहकारी त भागिहाल्यो तर अब पालो बैंकको पनि आएको छ । मुलुकको अर्थतन्त्र झन् झन् नाजुक अवस्थामा पुग्ने भनेर अहिले विद्, अर्थविद्हरु बताउँछन् । बैंकमा एक लाखको चेक लिएर गएमा चार वटा शाखा कार्यालउ धाउनुपर्छ । अहिले आमसर्वसाधारणले बैंकमा बचत गर्न छोडिसकेका छन् ।
जसले गर्दा बैंक टाट पल्टिनुपर्ने अवस्थामा पुगेको छ । बजारमा जताततै ‘घर बिक्रीमा’, ‘जग्गा बिक्री’ लेखिएका पोस्टरहरु देखिन्छन् । यता, गाडी कम्पनीमा पनि किन्नेभन्दा बेच्न चाहनेहरु बढी भेटिन्छन् । ऋणीले ऋण तिर्न नसकेपछि बैंक तथा वित्तिय संस्थाहरुले लिलाम गरेको घरजग्गा, गाडी र सेयरहरु बिक्री नभएपछि कन्तबिजोग भएको छ ।
चार दशकअघिको मूल्यमा घरजग्गा, गाडी र सेयर पुग्छ भनेर अधिंकाशले अनुमान लगाउन थालिसकेका छन् । ९९ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । तर, यसमा आएको मन्दीका कारण ऋणीहरुले ऋण तिर्न छोडेका छन् ।
अहिले सहकारीझैं बैंक पनि डुब्छ भनेर पक्कापक्की भइसकेको छ ।
यो कुरा थाहा पाएपछि बैंकका बचतकर्ताहरुले धमाधम आफ्नो रकम निकालेका छन् । सहकारी डुब्ने कुरा थाहा पाउनेबित्तिकै बाठाटाँठाले आफ्नो बचत निकालिहाले । जसले गर्दा उनीहरु डुब्नबाट बचे ।
अहिले बैंक डुब्छ भनेर थाहा पाएपछि अधिंकाशले आफ्नो बचत निकालेका छन् । उनीहरुले आफुहरुले यति नाफा कमाएको भनेर सार्वजनिक गरेपनि ठूलो घाटा व्यहोर्नुपरिरहेको छ । सेयर होल्डरमा बोनस दिन सकिरहेको छैन भने कर्मचारी कटौती गरिरहेका छन् । पुराना कर्मचारी हटाएर न्यून तलबमा नयाँ कर्मचारी भर्ती गरिरहेका छन् ।
अहिले सरकारले मुलुक मन्दीमा गएको भनेर घोषणा नगरेपनि बजारको अवस्था हेर्दा मुलुक पूरै मन्दीमा गइसकेको छ । मानिसहरु पैसा जति सबै व्यक्तिले घरमा लुकाएको बताउँछन् । पूर्व अर्थमन्त्री जनार्दन शर्माले मानिसहरुले घर–घरमा लुकाएको पैसा बाहिर ल्याउने दाबी गरेका थिए । तर, त्यो गफमै सीमित भएको छ । अहिले व्यापारीहरु भन्छन्, ‘पाँच सय र हजारको नोट देखिनै छोड्यो ।’
आम सर्वसाधारण सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकालेमा अहिलेको मन्दी कम हुने बताउँछन् । अहिले बैंक तथा वित्तिय संस्थामा बचत गर्नेदेखि घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने तथा व्यापारव्यवसाय गर्नेहरु डुबिरहेका छन् ।
व्यापारव्यवसायमा आएको मन्दीका कारण सटर, कोठा र फल्याटहरु धमाधम खाली भएका छन् । हप्तैपिच्छे खाद्यान्नको मूल्यवृद्धि भइरहेको छ । मुलुकको अर्थतन्त्र झन् जटिल अवस्थामा पुग्ने भनेर अधिंकाशले बहस गर्न थालेका छन् । बेरोजगारीको संख्या दिनानु बढिरहेको छ ।
आफ्रनै व्यापारव्यवसाय गर्नेदेखि साहुकोमा काम गर्ने समेत बेरोजगार भएका छन् । पैसा नभएपछि मानिसहरुले जग्गा किनेर घर बनाउन छोडेका छन् । घरायसी काम गर्नेहरु पनि बेरोजगार भएका छन् । यसरी बेरोजगारको संख्या दिनप्रति दिन बढिरहेको छ ।
अब कसरी बाँच्ने र छोराछोरी कसरी पढाउने भनेर अधिंकाशको मनमा चिन्ता छ । निजी विद्यालयमा फिस तिर्न नसकेपछि अभिभावकहरुले बालबच्चा सरकारीमा सारेका छन् । सहकारी पीडित बचतकर्ताहरु ‘मर्नु कि बाँच्नु’ अवस्थामा पुगेका छन् । तर, सहकारी मन्त्री रन्जिता श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसप्रति केही चासो छैन ।
गरिबी निवारणका लागि भन्दै सरकारले सहकारी दर्ता गर्न दियो । तर, सम्बन्धित निकायको फितलो अनुगमनका कारण सहकारीले करोडपतिलाई सडकपति बनाइदिएको छ । बच्चादेखि बूढासम्मको रकम सहकारीमा डुबेको छ । सहकारीले कसैलाई छोडेको छैन । चाहे त्यो सरकारी कर्मचारी नै होस् या राजनीतिक दलका नेता ।
आमनागरिकले ब्याजको प्रलोभनमा आफुसँग भएको करोड रपैयाँ सहकारीमा जम्मा गरे । तर, ब्याजको त कुरै छोडौं, साँबा समेत फिर्ता भएको छैन । सहकारीले बचत खाइदिएपछि कतिले आत्महत्याको बाटो रोजे, कति उपचारको बेडमा पैसा तिर्न नसकेर छटपटाइरहेका छन् ।
यता, कोठा भाडा तिर्न नसक्ने वा बालबालिकाको फिस तिर्न नसक्नेहरु पनि उत्तिकै छन् । नेपाल सरकार, विज्ञापन बोर्ड, नगरपालिका, गाउँपालिकालगायतले सहकारीमा बचत नगर्नुस् भनेर जनचेतना नफैलाउँदा आज करोडौं बचतकर्ताको खर्बो रकम सहकारीमा डुबेको छ ।
पछिल्लो समय सरकारले सहकारी पीिडत बचतकर्ताहरुसँग सात बुँदे सम्झौता गर्यो । तर, त्यो पनि दराजमै थन्काइदियो । सरकार जब पीडितहरु सडकमा उत्र्रिन्छन्, तब सम्झौता गर्छ । तर, आन्दोलन स्थगित हुनेबित्तिकै सम्झौता पनि थन्काउँछ ।
सरकारले करको लोभमा सहकारी दर्ता गर्न दियो । तर, सहकारीका सञ्चालकहरुले बढी ब्याजको प्रलोभन देखाएर सिधासाधी फसायो । सरकारले पहिल्यै सहकारी चलाउन नदिएको भए आज करोडौं जनताको घरमा रुवाबासी हुदैँन थियो ।
अहिले पनि सरकार पीडितहरुको आँखामा छारो हाल्ने काम मात्र गरिरहेको छ । सरकार बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीमाथि न कारबाही गर्न सक्छ न बचत फिर्ता गरिदिन पहल नै गर्छ । यसरी सरकारभन्दा सहकारी शक्तिशाली हुँदा करोडौं जनताको खर्बो रकम बालुवामा पानी हाल्या बराबर भएको छ ।
सहकारी संघसंस्थाहरुले एकवर्षदेखि घर भाडा तिरेका छैनन् । कर्मचारीको तलब पनि दिएका छैन । यसैले अहिले घरधनीहरुले आफ्नो घर खाली गराउन वडा तथा नगरपालिकामा निवेदन दिइरहेका छन् । पछिल्लो समय सहकारी सञ्चालन गर्न भनेपछि कुनै पनि घरधनीहरु घर भाडामा दिन तयार हुदैँनन् ।
पहिलापहिला मिनपावर सञ्चालन गर्न भनेपछि घर भाडामा दिन्न थियो । तर, अहिले त्यसको ठिक विपरीत भएको छ । जतिसुकै महँगो भाडा तिर्छु भनेपनि घरधनीहरु सहकारी संघसंस्था सञ्चालन गर्न घर भाडामा दिदैँनन् । पैसाभन्दा आफ्नो घर तोडफोड हुने वा आगजनी हुने डर उनीहरुमा छ ।
रुषा थापा
भक्तपुर