काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ ।
आइतबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताउनुभयो । उहाँले अघिल्लो केन्द्रिय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, आदिवासी जनजाति महासंघ र किसान महासंघ बनाउँदा संस्थापनले एकपक्षिय रुपमा गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा भ्रातृ संस्था गठन गर्दा संस्थापन र संस्थापन इतर समुहको सन्तुलन कायम गर्न अनुरोध गर्नुभयो । सहमहामन्त्री परियारले पार्टीको बैठक लाइभ गरेर व्यक्तिलाई फाइदा पुगेपनि पार्टीलाई कुनै फाइदा नपुगेको बताउनुभयो । उहाँले फेसबुक लाइभ हेर्नेको संस्था घटिरहेको भन्दै आम जनतालाई आफूहरुको कुरा सुन्ने रुचीमा ह्रास आउँदै गएको बताउनुभयो ।
सहमहामन्त्री परियारले दलित समुदायलाई गत निर्वाचनमा टिकट नदिइएको भन्दै आपत्ति जनाउनुभयो ।