मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभा बैठक शुक्रबार बोलाउन सभामुखलाई लेखे पत्र

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत नपाउने देखेपछि भोलि (शुक्रबार) बोलाउनेगरी प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन् ।

कार्कीले प्रदेश सभामा आज बिहिबार विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै कार्कीले सभामुख गौतमलाई एमालेको संसदीय दलमार्फत पत्र पठाएका हुन् । सभामुख गौतमले भने बैठक स्थगितबारे प्रतिपक्षी दलसँग छलफल गरेर त्यसबारे निर्णय लिने बताए ।

विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुअघि सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका थिए ।  प्रदेश सरकारले प्रदेशअधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो ।सरकार जोगाउन मुख्यमन्त्री कार्कीलाई ४७ मत आवश्यक पर्छ ।

कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्र समर्थन रहेको छ । कोशी प्रदेशमा एमालेको ४०,राप्रपाको ६ सिट रहेको छ । त्यसैगरी विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद हुन्छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँने व्यवस्था छ ।

तर जसपाले भने मत कसैलाई मत नदिएर तटस्थ बस्ने जनाएको छ । कार्की गत पुस २४ मा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्