काठमाडौँ – नेपालमा जेठ ३१ गते भित्रिएको मनसुन अझै पनि देशभर पुग्न सकेको छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पूर्वी भूभागमा मनसुनको प्रभाव छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ।
आज देशैभर आंशिक देखि सामान्य बदली हुने पूर्वानुमान छ। पश्चिमी भूभागमा भने अरेबियन सागरबाट विकसित ‘बिपरजोए’ चक्रवात जमीनमा आउँदा बनेको न्युनचापीय प्रणालीको असरका कारण मौसम बदली हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। ‘अरब सागरमा विकसित भएको बिपरजोए चक्रवात जमीनमा आइसकेपछि कमजोर भएपछि बाँकी रहेका अंशहरूको प्रभाव हो। त्यसले गर्दा पश्चिमतिर पानी परेको छ, मनसुन अझै पुगेको छैन,’उनले भने।
मनसुन नेपाल भित्रिएको एक साता बितिसक्दा पनि देशभर नफैलनुका कारण सोही प्रणाली कारक रहेको मौसमविद श्रेष्ठ बताउँछन्। ‘पश्चिमी न्यूनचापीय प्रणाालीका कारण मनसुन देशभर फैलिन सकेन । अब त्यसको प्रभाव कमजोर बन्दै छ । त्यो प्रणालीको प्रभाव सकिएपछि देशभर मनसुन फैलन्छ,’उनले भने। अहिले मनसुनका लागि पश्चिमतिर पनि अनुकूल वातावरण बन्दै गएकाले अब देशभर फैलन धेरै ढिला नहुने श्रेष्ठ बताउँछन्।
सातै प्रदेशमा बदली हुने भनिएपछि पश्चिम तराइका भूभागमा तापक्रम घट्ने सम्भावना छ। गर्मी नघटेपनि तापक्रम ४० डिग्रीबाट ३५ को हाराहारीमा आउने मौसमविद् श्रेष्ठले बताए। आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति भने कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।