बझाङ – सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उपचारका क्रममा मन्त्री सिंहको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजले मृत घोषणा गरेको हो ।
गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । दुर्घटनामा परेका मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।
सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनार बजुवा बगरमा खसेको थियो ।
दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।