काठमाडौं – ग्यालेक्सी फोरके टिभीबाट युवराज कँडेल बाहिरिएका छन् । मंगलबार फेसबुकमा एक पोस्ट राख्दै कँडेलले आफू ग्यालेक्सी फोरकेबाट बाहिरिएको जानकारी दिएका हुन् । उनी युट्युबबाट भिडिओ डिलिट गरेको भन्दै टेलिभिजनबाट बाहिरिएका हुन् ।
ग्यालेक्सी फोरके टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधा कुरा’मा कँडेल प्रस्तोताका रूपमा कार्यरत थिए । कँडेलका अनुसार उनको टिमले केही महिनाअघि एक उच्च सरकारी अधिकारीले महिला कर्मचारीमाथि गरेको हिंसाको विषय उठान गरेका थियाे । उक्त रिपोर्टपछि मन्त्रिपरिषद्ले ती सरकारी अधिकारीलाई बर्खास्तको निर्णय गरेको थियो ।
“उनको (सरकारी अधिकारी) पावरले त्यसको नौ महिनापछि टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिएछ,” कँडेलले फेसबुक पोस्टमा लेखेका छन्, “यसलाई सच्याउने प्रयास नै भएन । कार्यक्रमको मूल्य र मान्यता माथि नै प्रहार भएपछि ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको छु ।”
यसअघि उक्त कार्यक्रमकाे प्रस्ताेता रहेका रवि लामिछानेले असार २ गते ग्यालेक्सी फाेरके टिभी छोडेका थिए । त्यसपछि लामिछानेकाे सिधा कुराकाे ‘उत्तराधिकारी’ का रूपमा युवराज कँडेलले कार्यक्रम चलाउँदै आएका थिए ।