काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका अख्तियारको फन्दामा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले शैल्यशिखर नगरपालिकामा चरम भ्रष्टाचार भएको भन्दै नगरपालिकालाई पत्र काटेको छ ।
‘शैल्यशिखर नगरपालिकामा कृषि कार्यक्रम अन्तरगत संघ र प्रदेश सरकारको रु. १ करोडको कार्यक्रम निर्देशिका बमोजिम टेण्डर गुर्नपर्नेमा नगरप्रमुखको सोझै निर्देशनमा निर्णय गरि रकम हिनामिना गरेको र नियम विपरितका कार्यहरु गरि आर्थिक हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा तपसिल बमोजिमका बुँदाहरु सँग सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपिहरु त्यस कार्यालयको स्पष्ट राय प्रतिक्रिया सहित पत्र प्राप्त भएको मितिले पन्ध दिन भित्र यस कार्यालयमा आइपुग्ने गरि पठाई छानवीन कार्यमा सहयोग गरिदिनहुन अनुरोध छ’ अख्तियारको पत्रमा लेखिएको छ ।
अख्तियारले रु. १ करोडको कार्यक्रमको कृषि औजार खरिद प्रक्रियासँग सम्बन्धित स्पेसिफिकेशन लागत अनुमान सिलबन्दी, दरभाउ÷कोटेशन, दाखिला प्रतिवेदन र किसानलाई विरतण गरेको विल भरपाइहरु माग गरेको छ । यस्तै २०७९ असार मसान्त सम्म के कति कर्मचारीहरु करार तथा ज्यालादारीमा नियुक्त गरिएका छन् ? उनीहरुको नियुक्ती प्रक्रिया सम्बन्धि सम्पूर्ण कागजातहरु समेत माग गरेको छ । यदि कागजातहरुमा त्रुटि भेटिएमा अर्थात प्रक्रिया नपुगाएर कर्मचारी भर्ना गरेको पाइएमा कर्मचारीको जागिर जान सक्नेछ ।
साथै अख्तियारले चिया तथा पानीमा भएको खर्चको गौश्वरा भौचर र विल भरपाइहरुसमेत माग गरेको छ ।
शैल्यशिखर नगरपालिकामा नि. प्रमुख प्रशासकीय अधिकृत भने सुरेन्द्र बहादुर विष्ट हुन् ।