बालुवाटारमा माओवादी धारका दलहरूको बैठक जारी

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि माओवादी धारका पार्टीहरूको बैठक बसेको छ।

आज बिहान पौने ९ बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत सहभागी छन्।

यस्तै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुती, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओलीलगायत पनि बैठकमा सहभागी छन्।

‘जनयुद्धकालीन मुद्दा’ का विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डमाथि सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका दलका नेताहरू यसअघि पनि बालुवाटारमा छलफलमा जुटेका थिए। गत फागुन २३ मा उनीहरूले शान्ति सम्झौता र परिवर्तनका विरूद्ध हुने गतिविधिको एकमत भएर प्रतिवाद गर्ने निर्णय गरेका थिए।

संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको र शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा उनीहरूले त्यसदिन छलफल गरेका थिए।

प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए। माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए। रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले प्रचण्डउपर दायर गरेको रिट निवेदन सर्वोच्चका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनेकोमा न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासबाट बदर गरेर रिट दर्ता गर्न दिएको आदेशप्रति माओवादीले गम्भीर ध्यानाकर्षण भएको बताएको थियो।

प्रचण्डविरूद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्