काठमाडौं – राष्ट्रपति निर्वाचनमा संघीय संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् । मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा सिँढीमा लडेका हुन् । टाउकोमा चोट लागेपछि सांसद न्यौपानेलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ ।
७१ वर्षका न्यौपाने मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुन् । सांसद न्यौपाने सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा (एकीकृत समाजवादी) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । सांसद न्यौपाने एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन् ।
नयाँ राष्ट्रपति चयनका लागि बिहीबार मतदान जारी छ । राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेको सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।