काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव रक्षा बमले २३औँ महाधिवेशनमा केन्द्रीय सचिवका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् ।
फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा बमले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बताएकी हुन् । धनगढीमा रहेर अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेता बमले छोटो समयमै आफूलाई संगठनमा अब्बल बनाएकी छन् । उनी २०६५ सालमा सुदूरपश्चिमको विकट पहाडी जिल्ला दार्चुलाको छान्ना तिंकरी कन्या माविमा सात कक्षामा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित हिसाबले जोडिएकी थिइन् ।
उच्च शिक्षा हासिल गर्न धनगढी आएपछि कैलाली बहुमुखी क्याम्पसबाट अनेरास्ववियुमा सक्रिय भएर काम गरेको अनुभव उनीसँग छ । उनले कैलाली बहुमुखी क्याम्पसमा कमिटी सदस्य हुँदै कोषाध्यक्ष, सहसचिव र लामो समय कार्यवाहक अध्यक्ष भएर काम गरेकी थिइन् ।