काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
भेटवार्तामा प्रधानमन्त्री देउवालाई प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका छन् । सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेकाे माओवादीका एक नेताले बताए ।
आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराएपछि सरकार गठनकाे प्रक्रिया झन पर धकेलिएकाे राजनीतिक वृतमा चर्चा चल्न थालेकाे छ । स्रोतका अनुसार निर्वाचन अगाडि भएकाे भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । निर्वाचनपछि तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गरेका हुन् ।