काठमाडौं– आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका एक सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमको उडानमार्फत दिल्ली लगिएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले हिजो अपराह्न करिब ३ बजेको उडानमार्फत दिल्ली लगेको हो ।
उहाँका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० जना यात्रुलाई निगमले आफ्नै उडान र अरू वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली लगेको हो । केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए । नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेको थियो ।
प्राधिकरणले आफूले दिएको निर्देशन निगमले पालना नगरेको भन्दै आइतबार बिहान दिल्लीतर्फको उडान रद्द गर्दा विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए । काठमाडौँ–दिल्ली आइतबारको १ः४५ बजेको उडान रद्द भएको थियो । यसबाट दुई सय ४७ जनामध्ये एक सयजना कोड शेयरिङमार्फत जापान, अमेरिका, जर्मनीलगायत विभिन्न मुलुक जाने यात्रु अलपत्र परेका थिए ।