कञ्चनपुरको वनहरा शिविर डुबानमा, उद्धार कार्य जारी

काठमाडौँ – शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा परेकाे हाे ।

स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानै देखि खटिएको छ ।

वडानं १२ को वैवाह भन्ने ठाउँमा पनि नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ पनि डुबानको जोखिम रहेकाले सशस्त्र प्रहरी र प्रहरीको टोली त्यसतर्फ गएको र विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यता आज बिहानैदेखि डडेल्धुरास्थित महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले बिहान १० बजेसम्म तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत हुन सूचना जारी गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्