समावेशिताको आधारमा उम्मेदवारको सूची बनाउने जिम्मा कांग्रेसका सहमहामन्त्रीलाई

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूलाई दिएको हो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले क्लस्टर छुट्याएर शुक्रबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्न गर्न भनिएको बताए । उनका अनुसार सहमहामन्त्री भीष्मराज आङ्दम्बेले आदिवासी जनजाति, फर्मुल्ला मन्सुरले मुस्लिम, महालक्ष्मी उपाध्यायले महिला, महेन्द्र यादवले मधेसी, किशोरसिंह राठौरले खस-आर्य, उमाकान्त चौधरीले थारु, बद्री पाण्डेले पिछडिएका क्षेत्र, जीवन परियारले दलित कोटामा सिफारिस भएका नाम सूचीकृत गर्ने छन् ।

देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको परियारले बताए । उक्त नाम क्लस्टर अनुसार छुट्याएर भोलिको बैठकमा पेस गरिने उनको भनाइ छ । कांग्रेसमा तल्ला तहबाट सिफारिस भएका नामका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । निर्वाचन आयोगमा २ र ३ असोजभित्र समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने छ । आदिवासी जनजाति ३२ जना, खसआर्य ३४, थारु ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम समेटिनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ दलहरूले ११० जनाको बन्दसूची बुझाउनुपर्ने हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्