काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका नेता खगराज भट्ट मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशसभामा चुनाव लड्न तयार देखिएका छन् । आगामी मंसिरमा हुने आम निर्वाचनमा सत्तागठबन्धनले मिलेर चुनाव लड्ने भएपछि भट्ट मुख्यमन्त्री बनाउने शर्तमा प्रदेशसभामा चुनाव लड्न तयार देखिएका हुन् । पछिल्लो तीन वटा चुनावमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भट्ट नै थिए । तर यो पटक माओवादी केन्द्र नै सत्ता गठबन्धनमा सहयात्री भएकाले देउवालाई चुनाव जित्न थप सहज बनेको छ । तर भट्टले भने मुख्यमन्त्रीमा आँखा लगाएका छन् ।
भट्ट देउवाका प्रतिस्पर्धि भएपनि उनी यो पटक देउवालाई टक्कर दिने होइन, सघाउने र आफ्नो पनि सिट सुरक्षित गर्ने मुडमा छन् । विगतमा देउवासँग भिड्दै आएका भट्ट मुख्यमन्त्री बनाउने शर्तमा प्रदेश सभाको उम्मेदवार बन्न तयार देखिएका छन् । डडेलधुरा ‘क’ आफ्ना लागि उपयुक्त प्रदेश सभा क्षेत्र भएको भन्दै उनले भने, ‘मुख्यमन्त्री बन्ने सुनिश्चित भए प्रदेश सभामा प्रतिस्पर्धा गर्न तयार छु ।’ मुख्यमन्त्रीको सुनिश्चितता नभए कैलाली वा कञ्चनपुरको कुनै क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि छुट्याउनुपर्ने भट्टको माग छ ।