काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन उपभोक्ता अधिकारवादी संस्था कञ्जमर आइ नेपालले सरकारसमक्ष माग गरेको छ । आम उपभोक्ता र नागरिकको जीवनयापनलाई नै असर गर्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिइ राहत दिन कञ्जुमर आइ नेपालले माग गरेको हो ।
संस्थाकी अध्यक्ष विमला खनालले अरु सम्पूर्ण विकल्पलाई ध्यान नदिई केबल मूल्यवृद्धिलाई मात्र सहज रुपमा लिने सरकारको कार्यले आम सर्वसाधारणको दैनिक जीवनयापन कष्टकर बन्दै गइरहेको बताइन् । उनले सरकारले मूल्य नियन्त्रण गरी उपभोक्तालाई राहत नदिएको गुनासो गरिन् । सरकारले नाफाखोर कालोबजारियाको संरक्षण गरेको पनि आरोप लगाइन् ।
सरकारले जनताप्रति उत्तरदायी र जवाफदेही बन्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन उनले माग गरिन् । मूल्यवृद्धि फिर्ता नलिए सरकारका विरुद्धमा सडकमा उत्रिने र सशक्त आन्दोलन गर्ने पनि उनले चेतावनी दिइन् ।