महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको मणिका धाममा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक, धार्मिक धरोहरको रुपमा चिनिने मणिका (मुडका) धाममा यहि फागुन २८ गते भव्य मेला लाग्ने भएको छ । नगरपालिकाले दिने स्थानीय बिदा यसबर्ष पनि निरन्तरता दिएको छ । मेला शनिवार भएतापनि नगरक्षेत्रभित्र बिदा शुक्रबार दिएको छ ।
मेलामा दुई लाख बढी श्रद्धालु भक्तजनहरुले बैजनाथ बाबाको दर्शन गर्ने अनुमान गरिएको छ । कञ्चनपुर, कैलाली, डडेलधुरा र भारतीय निकटवर्र्ती क्षेत्रका श्रद्धालुहरुले विगत बर्षहरुमा पनि बैजनाथ बाबाको दर्शन गर्न आउने गरेको वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले बताउनुभयो ।
प्रत्येक बर्ष यस क्षेत्रमा फागुन शुक्लपक्षमा मेला लाग्ने गर्दछ । मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवांच्छित फल पाईने जनविश्वासका कारण दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । मणिका धामलाई यस क्षेत्रका स्थानिय बासिन्दाले मुडकाका नामले चिन्दछन । धाम क्षेत्रमा बैजनाथ वावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो सफा कञ्चन तलाउ समेत रहेको छ ।
मुडका क्षेत्रमा रहेको तलाउमा मणीवाला सर्प वस्ने रहेका कारण यस क्षेत्रको नाम मुडका धाम रहेको स्थानीय वुढापाकाहरुको भनाई रहेको छ । थारु भाषामा मुड भन्नाले शिर लाइ बुझने गरिएकाले सबै भन्दा अग्लो भाग भएकाले मुड शव्दको अप्रभंसभै मुडका भएको एकथरीको भनाई रहेको छ ।
पहाड बाट मौसमी रुपमा बसाई सारेर झर्ने व्यक्तिहरुले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आए पछि यो क्षेत्र अन्य समुदायका व्यक्तिहरुका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुदै गएको हो ।
पूर्व पश्चिम राजमार्ग भन्दा झण्डै ११ किलो मिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचिनकालमा पहाड बाट चौपाया सहित हिउदका बेला बसाई सार्नेहरुको आश्रय स्थलका रुपमा समेत रहेको थियो । विगतमा यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको आवागमन खासै नदेखिएपनि पछिल्लो समय जनप्रतिनिधि आएपश्चात यस क्षेत्रका संरक्षण सम्बद्र्धन भएपछि यस क्षेत्रमा पर्यटकहरुका चहलपहल बढ्न थालेको हो ।