आज देखि नेपालमा रेल चल्ने, यात्रु भने नबोक्ने

काठमाडौँ – आजबाट जयनगर–कुर्था रेलमार्गमा रेल चल्ने भएको छ । तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिने झाले जानकारी दिए । अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ । दिनमा एक पटक रेल चलाउने तयारी छ । अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, सञ्चार सुविधालगायतका व्यवस्थापन भइरहेको पनि उनले बताए । आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ । अनुमति बिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ ।

रेल सेवाको औपचारिक उद्घाटनको मिति तय भएको छैन । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ । फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ । जयनगरदेखि कुर्थासम्म रेल संचालनका लागि ८४ जना कर्मचारीलाई जनकपुरमा तालिम दिएको थियो । ५८ जना नेपाली र २६ जना भारतीय कर्मचारीलाई तालीम दिएको महाप्रबन्धक झाले बताए । पाइलट, को–पाइलट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट लगायतका पदमा कर्मचारी नियुक्त गरिसकिएका छन् ।

प्रत्येक स्टेसनमा एक÷एक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारी राखिएको छ । भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो । ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन् । भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक तयार पार्दैछ । ३ चरणमा निर्माण कार्य भइरहेको छ । पहिलो चरणमा जयनगर–कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ । तीमध्ये जयनगर–कुर्थासम्म ३६ किमी ब्रोडगेज तीन वर्षअघि नै तयार भइसकेको छ । बाँकी खण्डमा पनि लिक निर्माण तीव्र गतिमा भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्