काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका एक जना उपप्राध्यापकले नेपाली कांग्रेसको राजनीति गर्न जागिर छाडेका छन् ।
सिन्धुपाल्चोक कांग्रेस सभापति लड्न त्रिविका उपप्राध्यापक ५३ वर्षीय डा. प्रेमध्वज लामाले जागिर छाडेका हुन् । लामाले शुक्रबार विभागमा राजीनामा पत्र बुझाएका छन् । कांग्रेस सिन्धुपाल्चोकले यही पुस २७ मा जिल्ला अधिवेशन गर्दैछ । लामा यसपालि सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिसमेत भएका थिए ।
उनले पूर्वसञ्चार मन्त्री मोहनबहादुर बस्नेतपछि धेरै मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए । महाधिवेशन प्रतिनिधि बनेपछि उनी जिल्ला सभापति बन्ने दौडमा छन् । राजीनामा दिएर लामा अब सक्रिय राजनीतिमा होमिन लागेका हुन् । उनले ०५८ सालदेखि त्रिवि केन्द्रीय विभागबाटै अध्यापन गराउन थालेका थिए । ०६४ मा करार हुँदै उनी ०७४ मा स्थायी भएका थिए ।
लामा सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतनिकट छन् । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का हुन् । अब सिन्धुपाल्चोक सभापतिका लागि शेखर कोइराला पक्षका बंशलाल तामाङ र देउवा पक्षका लामाबीच प्रतिस्पर्धा हुने भएको छ ।
तामाङले क्षेत्र नम्बर दुईबाट महाधिवेशन प्रतिनिधिमा धेरै मत ल्याएका थिए । उनी इन्द्रावति गाउँपालिकाका अध्यक्ष हुन् । तामाङ गाउँपालिका अध्यक्ष लड्न २०७४ मा अमेरिकाबाट नेपाल आएका थिए । स्थानीय तहको चुनावमा उनले एमाले अध्यक्ष झम्क नेपाललाई पराजित गरेका थिए । तामाङ पूर्वजिविस सदस्यसमेत थिए । द्वन्द्वकालमा उनी अमेरिका पुगेका थिए ।