काँग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना आज अपराह्नदेखि

काठमाडौं – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैदेखि प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपराह्नदेखि मत गणना सुरु गरिने जानकारी दिए । उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो ।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गर्नुभएको थियो । सभापतिका प्रत्याशी डा शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो ।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए । उहाँले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्ने गरी व्यवस्थापन गरिने बताए । उनले भने, “आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।”

काँग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्