काठमाण्डौ – प्रतिनिधिको विवाद टुङ्गिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा चुनावी प्रक्रिया अघि बढेको छ ।
जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि छानबिन समिति गठन गरेर विवाद टुङ्ग्याइएको हो । टोलीले टुङ्ग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले हिजो बेलुका सार्वजनिक गरेको छ । आजै बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।
अब आज उम्मेवारीको अन्तिम नामावली सार्वजनिक गरेर भोलि मात्रै चुनाव हुनेछ । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।