नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा क्रिकेटर पारस खड्का चयन

काठमाडौं– नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेट खेलाडी पारस खड्कालाई ब्राण्ड एम्बेसडर चयन गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे । सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए ।

समारोहमा कम्पनीका नव नियुक्त ब्राण्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्राण्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

हाल एक वर्षको लागि गरिएको सम्झौताअन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्राण्ड प्रवर्धनका विविध क्रियाकलापहरुमा सहभागी हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्