काठमाण्डौ – नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो ।
पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भएकामध्ये सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । संशोधित कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ/नगर वडा अधिवेशन आउँदो असोज ५ गते तोकिएको छ । त्यस्तै गाउँ÷नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको छ ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ । प्रदेश र केन्द्रको अधिवेशनको मिति भने यथावत् छ । कांग्रेसले यसअघि नै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आउँदो मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।